माओवादीका पूर्व सांसदहरुको मुद्दा वरिष्ठतम् न्यायाधीश कार्कीको इजलासमा

१४ साउन, काठमाडौं ।

सांसद पदमा पुनर्बहाली माग गर्दै माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहिबार सुनुवाइ हुँदैछ ।

चारै नेताको मुद्दा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ ।

नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्वहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो ।

भट्ट कैलाली क्षेत्र नम्बर–४, रायमाझी अर्घाखाँची, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here