१४ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन् । यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बताएको छ । उनी आफै मन्त्री बन्ने कि नबन्ने निश्चित भइसकेको छैन ।
मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए । बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए । बुधबार पुनः बैठक बोलाइएको छ ।
मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो । बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए ।
समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताए । ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो । यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले भने ।
स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ । मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् ।
सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ । मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन् ।
निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए । उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ ।
स्रोतका अनुसार, ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका प्रमोद साहलाई ‘मन्त्री बनाउँछु’ भन्ने आश्वास अध्यक्ष यादव स्वयंले दिएका छन् । त्यसैले प्रमोदलाई मन्त्री बनाउन यादवलाई दबाब परेको छ । रेणुका गुरुङ मन्त्री हुनका लाागि कित्ता परिवर्तन गरेकी छन् । ओली सरकारमा पनि रेणुका मन्त्री भएकी थिइन् । फेरि मन्त्री हुन पाइन्छ कि भन्ने गुरुङलाई ठूलो आशा छ ।
मन्त्री हुनको लागि अमृता अग्रहरिले पनि कित्ता परिवर्तन गरेकी छन् । उनलाई पनि मन्त्री बनाउने आश्वासन यादवपक्षीय नेताहरूले दिएका छन् । पाएमा राज्यमन्त्री खान पाइन्छ कि भन्ने आशा लीला सिटौललाई छ । सिटौलाले सुरुदेखि नै यादवलाई साथ दिएकी छन् ।
डा. सूर्यनाराण यादव र सुरेन्द्र यादवले पनि मन्त्री हुनका लागि विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन् । ओली प्रधानमन्त्री भएको बेला सुरेन्द्र सरकारबाट हटाइएका थिए ।
सरकारमा अध्यक्ष यादव आफैँ सहभागी हुने कि नहुने भन्ने पनि टुंगो नलागेको कार्यकारिणी सदस्य रमेश यादवले बताए । ‘केही कार्यकारिणी सदस्यहरूले अहिलेको सरकार चुनावी सरकार भएकोले अध्यक्ष आफैं सरकरमा जानुपर्छ भन्ने सुझाव आएको छ,’ यादवले भने, ‘तर, केहीको सुझाव यसपटक अध्यक्ष सरकारमा जानुहुन्न भन्ने रह्यो ।’