मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ दलका नेताबीच सहमति

१४ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई छिटै पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रिपरिषद् विस्तार तथा मन्त्री छनोटको जिम्मेवारी पनि शीर्ष नेताहरूलाई दिने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार गठनपछि भए÷गरेका कामकारबाही तथा उपलब्धिको समीक्षा र मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बताए ।

दुई साताअघि गठन भएको सरकार प्रधानमन्त्रीसहित चार जना मन्त्री र एक राज्यमन्त्रीको सानो आकारको छ । सरकारले पूर्णता नपाउँदा राज्यका कतिपय नियमित कामकारबाही चुस्त र प्रभावकारी हुन नसकेको विषयमा बैठकमा समीक्षा भएको बैठकमा सहभागी एक सदस्यले बताए ।

सत्ता गठबन्धनमा सहभागी पार्टीसँग छलफल तथा समन्वय गरी छिटै मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा नेताहरू सहमत रहेको महामन्त्री खड्काको भनाइ छ । सरकारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल–खनाल समूहलाई समेत समेट्ने योजना रहे पनि नेपाल–खनाल समूहले तत्काल सरकारमा जाने इच्छा नदेखाएकाले सरकार गठनमा केही विलम्ब भएको बैठकमा समीक्षा गरिएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार एमालेको नेपाल–खनाल समूह र राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा सहभागिता नहुने इच्छा देखाएका छन् । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपाल गरी तीन दलबाटै मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

त्यस्तै गठबन्धन सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमका विषयहरू तयार पार्न काँग्रेस महामन्त्री खड्का नेतृत्वको कार्यदललाई निर्देशन समेत दिइएको जनाइएको छ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठका विषयमा पनि शीर्ष नेताहरूले सामान्य असन्तुष्टि जनाए पनि त्यसबाट अनुभव लिई अगाडि बढ्ने प्रतिबद्धता आएको छ ।

कोभिड–१९ को तेस्रो भेरियन्ट देखिएकोप्रति आवश्यक स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउन र त्यसविरुद्ध थप खोप ल्याउनेबारे नेताहरूबीच कुराकानी भएको छ । अध्यक्ष केसीले पर्याप्त मात्रामा खोप ल्याई जनतालाई छिटो लगाउने व्यवस्थापन मिलाउन सरकारलाई सुझाव दिए ।

बैठकमा प्रधानमन्त्री देउवाका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here