एसइईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी

१३ साउन, काठमाडौ
माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन अन्तिम साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७७ को एसइईको नतिजा २५ गतेभित्र सार्वजनिक गर्ने भएको भएको हो ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार साउन २५ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तीव्ररूपमा काम गरिरहेको छ । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक अधिकारीले बताए । परीक्षणा नियन्त्रण कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए ।

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ ।

दोस्रो लहरको कोभिड–१९ संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । कोरोना महामारीकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here