१३ साउन, काठमाडौं
पूर्व माओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह सांसद पद पुनर्बहालीको माग गर्दै अदालत पुगेका हुन् ।
उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए ।
‘केपी ओलीले नेतृत्व गरेको एमालेमा म औपचारिक रुपमा प्रवेश गरेको छैन । एमालेको पार्टी सदस्यता लिएको छैन । २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगमा निवेदन निकालेको प्रतिलिपि अनुसार नेकपा एमालेको केन्द्रीय सदस्यमा म छैन । नेकपा माओवादी एकता केन्द्रको केन्द्रीय सदस्यमा रहेको छु’ नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ ।
नेकपा माओवादी (एकता केन्द्र)ले आफूलाई कुनै स्पष्टीकरण सोधेर जवाफ दिने मौका नै नदिइएको उनको दाबी छ । नेताहरुको तर्फबाट दायर रिटमाथिको सुनुवाइको पेशी बिहीबारका लागि तोकिएको छ ।