१३ साउन, काठमाडौं
गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरका अन्दाजी ४५ वर्षका तेजेन्द्रबहादुर खत्री (थापा), वडा नम्बर ५ हरेवाका ४८ वर्षीय रेशम कार्की र रेसुंगा नगरपालिका २ की ६८ वर्षीय सुशीला विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेमध्ये जिप चालक चन्द्रकोट गाउँपालिका–५ का ३५ वर्षीय बमबहादुर विक, वडा नम्बर ६ की २० वर्षीय बिनिता परियार, वडा नम्बर ४ का ३९ वर्षीय गगन क्षेत्री र वडा नम्बर ५ का २२ वर्षीय सुनिल विकको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
उनका अनुसार जिपमा सवार अन्य ७ सात जना घाइते छन् । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार चल्दैछ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।