जसपाको कार्यकारिणी समिति अब ३४ सदस्यीय, १७ जनालाई कारवाही

१३ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ ।

जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले सेतोपाटीलाई बताए ।

’पार्टीको आधिकारीकता दावी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने मात्रै जसपाका कार्यकारिणी सदस्य हुन्।अर्को पक्षमा दावी गर्नेहरु कार्यकारिणी समितिमा छैनन्,’ उनले भने, ’तत्कालका लागि ३४ सदस्यीय कार्यसमिति कायम भएको छ । अब थप्नु परेमा पार्टीले निर्णय गर्छ ।’

सोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए । महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए ।

जसपाको निर्णय अनुसार महन्थसहितका १६ जना र तटस्थ बसेका चौधरी अब कार्यकारिणी सदस्य रहँदैनन् । उनीहरुले अर्को पार्टी गठन नगरेको अवस्थामा सांसद पद भने कायम रहन्छ ।

जसपाको कार्यकारिणी समितिको बैठक बुधबार पनि बस्दैछ । कार्यकारिणी समिति बैठकले कार्यविभाजनको समेत टुंगो लगाउने एक कार्यकारिणी सदस्यले बताए ।

जसपामा एक अध्यक्ष चयन समेत हुनसक्ने स्रोतको दावी छ । विधानमा दुई अध्यक्षको व्यवस्था रहेकाले अध्यक्षको चयन हुने संभावना रहेको ती कार्यकारिणी सदस्यले बताए ।

’बैठकले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष लगायतका पदाधिकारी चयन गर्न सक्छ । कार्यकारिणी सदस्य समेत थप्न सक्छ’ ती सदस्यले भने । उनका अनुसार अशोक राईको अध्यक्ष हुने संभावना छ । ’त्यस्तो भयो भने मधेसी, जनजाति र खसको प्रतिनिधित्व हुन्छ’ उनले भने ।

अहिले बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्ष छन् भने राई जसपाको वरिष्ठ नेता छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here