जिन्स लगाएको भन्दै आफन्तले किशोरीको हत्या गरेको आरोप

१३ साउन, काठमाडौंं ।

गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ ।

ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ ।

उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएअनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा–हजुरआमा र काका–काकीहरूले लट्ठीले कुटेका थिए ।

उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो । त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्रमध्ये पर्छ ।

उनकी आमा शकुन्तलादेवीले भनिन्, ‘ऊ दिनभरि व्रत बसेकी थिई । साँझमा उसले जीन्स र टप लगाएर पूजा गरी । उसका हजुरबा–हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाए । नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताई ।’

उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको उनले बताइन् । शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए ।

उनले भनिन्, ‘उनीहरूले मलाई सँगै जान दिएनन् । त्यसैले मैले मेरा आफन्तलाई त्यसबारे जानकारी गराएँ । उनीहरू जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई भेटेनन् ।’

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन् । त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको थाहा भयो ।

प्रहरीले नेहाका हजुरबा–हजुरआमा, काका–काकी, काका–काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ । आरोपितले हालसम्म सार्वजनिक बयान दिएका छैनन् ।

वरिष्ठ प्रहरी अधिकृत श्रीयश त्रिपाठीले बीबीसी हिन्दीसँग कुरा गर्दै हजुरबा–हजुआमा, एकजना काका र अटो ड्राइभरसहित हालसम्म चार जना पक्राउ परेको र उनीहरूसँग बयान लिइएको बताएका छन् ।

प्रहरीले बाँकी आरोपितको पनि खोजतलास गरिरहेको उनले बताए ।

पञ्जावको सहर लुधिआनामा निर्माण मजदुरको काम गर्ने नेहाका पिता अमरनाथ पासवान पनि उक्त घटनापछि घर फर्किएका छन् ।

उनले नेहा र अरू छोराछोरीलाई विद्यालय पठाउन आफूले कडा मेहनत गर्ने गरेको बताए ।

शकुन्तलादेवीका भनाइमा उनकी छोरी प्रहरी अधिकृत बन्न चाहन्थिन् तर अब त्यो कहिल्यै पूरा नहुने भएको छ ।

उनी आफ्ना सासू–ससुराले नेहालाई स्थानीय विद्यालयबाट पढाइ छाड्न र परम्परागत पहिरनबाहेक अन्य पहिरन नलगाउन दबाव दिने गरेको बताउँछिन् ।

नेहाको परिवारले बीबीसीलाई उपलब्ध गराएका उनका दुई तस्बिरमा उनले आधुनिक कपडा लगाएको देखिन्छ ।

अभियानकर्मीहरू पितृसत्तात्मक सोचका कारण घरभित्रै महिलामाथि हुने हिंसा गहिरोसँग जरा गाडेको र त्यस्ता हिंसालाई घरका वरिष्ठ सदस्यद्वारा अनुमति दिइने गरेको बताउँछन् ।

भारतमा घरेलु हिंसा निकै हुने गर्छ भने पर्याप्त दाइजो नल्याएको निहुँमा प्रत्येक दिन २० महिलाको हत्या हुने गर्छ । (बिबिसी हिन्दी)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here