कोरोना तेस्राे लहरको जाेखिम : क्षती हुन नदिन स्वास्थ्य मन्त्रालयले तयारी थाल्याे

१२ साउन, काठमाडौं

सरकारले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै त्यसबिरुद्ध तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोजको दोस्रो हप्ताबाट कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गर्दै जनस्वास्थ्यमा थप क्षति हुन नदिन आवश्यक तयारी थालेको जनाएको छ ।

अहिले कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ । तर कोरोना संक्रमितको संख्या घटेको छैन । मंगलबार एकैदिन ३ हजार ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवस्था रहीरहे आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।

मन्त्रालयले नयाँ थपिने संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र ती मध्ये ९ हजार ७९३ लाई सघन उपचार गर्नुपर्ने अनुमान गर्दै त्यसैअनुसार तयारी थालेको हो ।

मन्त्रालयले सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले यसअघि सातवटै प्रदेशस्थित आपूर्ति केन्द्रलाई कम्तिमा १ हजार वटा अक्सिजन सिलिण्डर भरेर मौज्दात राख्न निर्देशन दिइसकेको छ । मन्त्रालयले विभागमा थप २ हजारवटा र प्रदेशमा कम्तिमा १ हजारवटा अक्सिजन सिलिण्डर राख्न निर्देशन सहितको पत्र मंगलबार स्वास्थ्य सेवा विभाग तथा सातवटै प्रदेशलाई पत्र पठाएको छ ।

यसअघिजस्तो अक्सिजनको अभाव हुन नदिन अहिलेदेखि नै आकस्मिक प्रयोगका लागि अक्सिजन सिलिण्डर भरेर राख्न मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले निर्देशन दिइसकेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।

संघ र प्रदेशमा क्रमशः २ हजार र १ हजारका दरले अतिरिक्त अक्सिजन सिलिण्डर भरेर राख्न, अक्सिजन प्लान्टहरू चुस्त बनाउन, अक्सिजन संकलन गरेर राख्न, प्लान्ट र लिक्विड ट्यांक बिग्रिएको छ भने बनाउन, जडान बाँकी भए गरिहाल्न मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिइसकेको छ ।

यस्तैगरी, सबै अस्पतालहरूलाई बेलैमा जनशक्ति व्यवस्थापन गर्न समेत मन्त्रालयले निर्देशन दिइसकेको डा. अधिकारीले बताएका छन् । तेस्रो लहरको जोखिम बढ्दै गएपनि हाल कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ ।

तर, पूर्ण खोप लगाउनेहरू कम रहेको हुँदा अझै सर्तकता अपनाउनुपर्ने डा. अधिकारीले बताए । ‘अहिले पूर्ण खोप लगाउनेहरू कम छन्, संक्रमणदर बढ्दैछ, जोखिम धेरै छ’ डा. अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here