१२ साउन, काठमाडौं
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले आयोगको उपाध्यक्षमा पौडेलसँगै सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका छन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ समेत रहेका उनी यसअघि एक निजी बैंकका निर्देशक समेत थिए ।
डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा पौडेलले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा समेत काम गरेका थिए । पौडेलले अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधी गरेका थिए ।