पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माण क्रममा लाखौंको भ्रष्टाचार, पाँचजना विरुद्ध मुद्धा दायर

१२ साउन, काठमाडौं
नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंहसहित ५ जनाविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माण क्रममा अनधिकृत रूपमा रकम लिएर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

राजमार्ग योजना अन्तर्गत चेनेज ४२+००० देखि ८८+५५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

उक्त ठेक्कामा निर्माण स्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी ‘भेरिएशन’ हुनपर्ने भन्दा फरक ब्यहोराको ‘भेरिएशन’ पेश गरिएको भन्दै तत्कालिन प्रमुख चापागाई, इन्जिनियर दीपककुमार खड्का, सव–इन्जिनियर गजेन्द्रप्रसाद राउत बिरुद्ध मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।

यस्तैगरी, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाल र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवी सिंहमाथी मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिएका छन् ।

उनीहरुले ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५० पैसा हिनामिना तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली अनुसार भेरिएशन नगराई, ईष्टिमेटविपरीत विना कुनै निर्णय फिल्डमा काम गरी/गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारेर रकम लिएको देखिएको रिमालले बताएका छन् ।

आयोगले तत्कालिन लेखा अधिकृत फुँयालबिरुद्ध २१ लाख ४९ हजार ८१८ रुपैंया र अन्य चारजनालाई प्रतिव्यक्ति ६८ लाख ९३ हजार ७७८ रुपैंया बिगो दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here