१२ साउन, काठमाडौं
यौन दुर्व्यवहारकाे आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले पनि सफाई दिएको छ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उच्च अदालत पाटनले महराविरुद्धको जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाई दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो ।
महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । वि.सं.२०७६ असोज १४ गते पदबाट राजीनामा दिएका महरा असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए ।
कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो ।