खोप प्रभावकारी रुपमा अघि बढाउन एमाले सांसदकाे माग

१२ साउन, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन सरकारसँग माग गरेको छ ।

संघीय संसद प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिएका हुन् ।

उनले बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन पनि माग गरे ।

उनले बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउन पनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरे । ‘सरकारले प्रतिशोधको भावनाले अघिल्लो सरकारले शुरु गरेका विकास र समृद्धिका कार्यक्रमलाई प्रभावित नतुल्याइयोस्’ उनले भने ।

बैठकमा कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रभावकारीरुपमा कार्यक्रम अघि बढाउन सर्वदलीय समिति बनाइउन माग गरे ।

नेकपा माओवादी केन्द्रका यशोदा सुवेदीले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको मनाङ जिल्लामा विपद्पछिको पुनर्निर्माण र राहतका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाउन सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here