१२ साउन, काठमाडौं
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै डा. केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् ।
‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्’ डा. केसीले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाएकाे पत्रमा लेखेका छन् ।
उनले निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निजी विद्यालय तथा अस्पताल व्यवसायी श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
‘अब उपरान्त व्यापारी वा व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस खुवाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस्’ भन्दै डा. केसीले सचेत समेत गराएका छन् ।