संसदलाई कामविहीन बनाउने छुट नयाँ सरकारलाई छैन : गगन थापा

१२ साउन, काठमाडौं
नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नयाँ सरकारलाई संसदलाई बेवास्ता गरि कामविहीन बनाउने छुट नभएको बताएका छन् ।

कांग्रेस नेता तथा सांसद थापाले नयाँ सरकारलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको जस्तो कुनैपनि अपराध गर्ने छुट नभएको बताए । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले संसदलाई मनोमानी ढंगले स्थगित गर्ने जस्ता कुनैपनि अपराध गर्ने छुट नयाँ सरकारलाई नभएको बताए ।

‘न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन, न त मनोमानि ढङ्गले स्थगित गर्न दिइनेछ, न त छल्न’ उनले भने ‘यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्ने छ, सांसदको प्रश्नसँग, संसदको निगरानीसँग ।’

यो सरकारलाई अघिल्लो सरकार जस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने उनको भनाई छ ।

ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै थापाले भने–‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’

आफ्नो पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको उल्लेख गर्दै थापाले यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here