नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या साढे ८ लाख बढी

क्रियाशील सदस्यमा युवाको वर्चस्व, नेतृत्वमा अधिकांश पाका नेताको दाबी

१२ साउन, काठमाडौं
नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या ८ लाख नाघेको छ । यो संख्या विगतको भन्दा दोब्बरले बढी हो ।

क्रियाशील सदस्यता छानविन गर्न गठित समितिले मंगलबार काँग्रेस पदाधिकारी बैठकमा पेश गरेको प्रतिवेदनअनुसार नयाँ कियाशील सदस्य संख्या ८ लाख ५२ हजार सात सय ११ पुगेको छ ।

तीमध्ये ४ लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन् । पुराना ४ लाख ९ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ ।

प्रतिवेदन अनुसार पुरुष कुल सदस्य संख्याको ७४.२६ प्रतिशत अर्थात ६ लाख ५३ हजार ४३८ जना रहेका छन् भने महिला २२.६२ प्रतिशत अर्थात १ लाख ९९ हजार ९७ जना र अन्य १७६ जना छन् । सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजार १४३ जनाको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ जना छन् ।

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२, प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील सदस्य छन् । समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ ।

कांग्रेसको क्रियाशील सदस्यमा भने युवाको वर्चस्व देखिएको छ । सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य छन् । १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना अर्थात् ४.५९ प्रतिशतले क्रियाशील पाएका छन् ।

नेतृत्वमा भने अधिकांश पाका नेताहरुले दाबी गरिरहेका छन् । पदाधिकारीका आकांक्षी पनि पाका उमेरकै छन् ।

कांग्रेसमा अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन् । मधेसी ९५ हजार १ सय ४१, मुस्लिम १६ हजार ९ सय ७०, थारू २७ हजार ६ सय १५, अपांगता भएका दुई सय एक, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११ र दलित ४५ हजार चार सय १७ जना छन् ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

सात सदस्यीय समितिका सदस्य कल्याण गुरुङले भने ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here