किन काठमाडौंमा इमरजेन्सी ल्यान्ड भयो नेपालगञ्जका लागि उडेको विमान ?

१२ साउन, काठमाडौं ।

सोमबार साँझ ६ बजे, नेपालगन्जका लागि बुद्ध एयरको जहाज उडेको २२ मिनेट भइसकेको थियो ।

भैरहवा आसपासको आकाशमाथि १२ हजार ५ सय फिटमा आफ्नै गतिमा उडिरहेको थियो ।

ढोकानजिकै १७–डी नम्बरको सिटमा बसेका ३३ वर्षीय यात्रु दीपक अचानक अचेत भए । छेउमा बसेका अर्का यात्रुले खबर गरेपछि एयरहोस्टेस कृपा अर्याल र सिर्जना चौधरी उनी छेउ पुगे ।

दीपकको शरीर पसिनाले भिजेको थियो । आँखा बन्द थिए । दुवै एयरहोस्टेसले हम्किए, पानी छम्किए । तर, दीपक होसमा आएनन् ।

ककपिटमा जहाज उडाइरहेका थिए क्याप्टेन आलोककुमार सिंह र कोपाइलटको सिटमा थिए अभिनय तुम्बाहाम्फे । एयरहोस्टेसले क्याप्टेनलाई इन्टरकमबाट कल गरेर एक यात्रु अचेत भएको जानकारी गराइन् ।

जहाज नेपालगन्ज टावरको सम्पर्कमा पुगिसकेको थिएन । चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग मेडिकल इमर्जेन्सी भएको जानकारी दिँदै सहयोग मागे ।

भैरहवा विमानस्थल नजिकै थियो, तर उपचारको सुनिश्चितता खोज्दै उनले जहाजलाई काठमाडौं नै फर्काउन अनुमति मागे । र, अनुमति पाएपछि जहाज काठमाडौंतर्फ नै मोडियो ।

एयरहोस्टेस र अन्य यात्रु मिलेर दीपकलाई सिटबाट निकालेर जहाजको ग्यालरीमा सुताए । संयोगले पल्लोपट्टि बसिरहेका यात्रु चिकित्सक रहेछन् । उनी पनि उपचारमा खटिए । उनले बिरामीको स्वास्थ्य अवस्था, मुटुको चाल हेरे । उनकै सल्लाहमा एयरहोस्टेसहरूले बिरामीलाई अक्सिजन लगाइदिए ।

काठमाडौं फर्किरहेको जहाजका चालकदललाई एटीसीले कुनै सहयोग चाहिए जानकारी गराउन भन्यो । तर, पाइलटले बिरामी चिकित्सकको निगरानीमा राखिएको जानकारी दिए, चालकदलले भीएचएफ फ्रिक्वेन्सीबाट बुद्ध एयरमा सम्पर्क गरेर एम्बुलेन्स तयारी अवस्था राख्न भने ।

जहाज २२ मिनेटमा काठमाडौं विमानस्थलमा फर्कियो । संयोगले मौसम सफा भएको र अरू ट्राफिक जाम पनि नभएकाले जहाज अवतरण गर्न कुनै कठिनाइ भएन ।

मेडिकल इमर्जेन्सी नै घोषणा गरिसकेकाले यस्तो बेला एयर ट्राफिक कन्ट्रोलरले समेत अन्य विमानलाई होल्डमा राखेर यस्ता विमानलाई प्राथमिकता दिनुपर्छ ।

जहाज अवतरण भएपछि पार्किङबाटै एम्बुलेन्समा राखेर बुद्ध एयरका कर्मचारीले बिरामीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगे । इमर्जेन्सीमा एउटा इन्जेक्सन दिएपछि उनको होस आयो ।

‘खासमा आफन्तको शोकमा परेका उनले खाना खाएका रहेनछन्, सुगर लेभल कमजोर भएकाले उनी बेहोस भएका रहेछन्,’ अस्पतालका एक चिकित्सकले भने । अस्पतालबाट बिदा भएर साँझ ८ बजे नै गोंगबु बसपार्कतर्फ लागे ।

उनी मंगलबार पहिलो उडानबाट नेपालगन्ज जाँदै छन् । ढिलो भएकाले तीन यात्रुले यात्रा रद्द गरे भने ६६ यात्रु सोमबार साँझ नै बुद्धकै उडानबाट नेपालगन्ज पुगे ।

‘पहिलो प्राथमिकता यात्रुको जीवन हो, समयमा निर्णय गर्न सकिएकाले उनको ज्यान जोगाउन सकियो, यसैमा सन्तोष छ,’ बुद्ध एयरका एक कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here