१२ साउन, काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटना निकै भयानक भएको प्रत्यक्षदर्शीले बताएका छन् । द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण चालकले बाटो नदेख्दा आइतबार उक्त दुर्घटना भएको हो ।
आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन् ।
सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन् ।
मृत्यु हुनेमा बालबालिका पनि छन् । मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परी अरू १० जना मानिस घाइते भएका छन् । उनीहरूले एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । (एजेन्सी)