नीरज यादव
११ साउन, काठमाडौं
हात्तीको आक्रमणबाट सर्लाहीमा एक वृद्धाको ज्यान गएको छ । हरिवन नगरपालिका–४ बस्ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुनको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तिकै आक्रमणबाट अर्का एकजना घाइते भएका छन् । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा सोमबार बिहान २ बजे जंगली हात्तीले ती वृद्धालाई आक्रमण गरेको थियो ।
गम्भीर घाइते भएकी उनलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि बिरगञ्ज रिफर गरिएकोमा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
यस्तै, बागमती नगरपालिका–४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते भएका हुन् । नाम र ठेगाना खुल्न नसकेका ति व्यक्तिलाई थप उपचारको लागि नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।