चैतसम्म चार करोड डोज खोप प्राप्त हुने सरकारको प्रक्षेपण

कोभ्याक्स सुविधाले नेपाललाई फाइजर र मोर्डना खोप पनि दिने

११ साउन, काठमाडौं
सरकारले आगामी चैतसम्म करिब ४ करोड डोज कोभिड–१९ बिरुद्धको खोप प्राप्त हुने प्रक्षेपण गरेको छ ।

सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड –१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको कामको ब्रिफिङ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिएका हुन् ।

डा. लोहनीले खोप लगाउन मिल्ने सबै उमेरका व्यक्तिहरुलाई पुग्ने गरि चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप आइपुग्ने अनुमान गरिएको बताएका छन् । असोजसम्म कोभ्याक्ससुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने उनकाे भनाई छ । कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एस्ट्राजेनेकाको खोप भदौ पहिलो सातासम्म आइपुग्नेछ ।

बैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले जानकारी दिएका छन् । कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने बताउंदै उनले कोभ्याक्सबाटै कोभिसिल्ड, मोडर्ना, फाइजर, जोनसन, सिनोभ्याक्स लगायत गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने जानकारी गराएका छन् ।

असोजदेखि चैत सम्ममा बालबालिकाहरुका लागि ६० लाख डोज फाइजर खोप पनि उपलब्ध हुने पनि उनको भनाई छ । सरकारले चैतसम्म २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरिएयता ७७ जिल्लाका १४ लाख ३० हजार ४ सय १६ जनाले कोभिड १९ विरुद्धको खोपको पूर्ण डोज लगाइसकेका मन्त्रालयको तथ्यांक छ । ३४ लाख ५ हजार १ सय ५४ जनाले कोरोनाविरुद्धको पहिलो डोज लगाएका छन् ।

हाल नेपालमा कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप प्रयोगमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here