११ साउन, काठमाडौं
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य रेशम चौधरी पार्टीको आधिकारीताको विवादमा तटस्थ बसेका छन् ।
जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएपछि चौधरी पनि सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका थिए । आफू दुवै पक्षमा नखुल्ने भन्दै उनी तटस्थ बसेका हुन् ।
निलम्वित सांसद चौधरीले पार्टी एकताका लागि आफू तटस्थ बसेको कुनै पनि पक्षमा हस्ताक्षर गरेनन् । ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन’ पत्रकारहरुसँग उनले भने– ‘मेरो पक्ष जसपा हो, विपक्ष पनि जसपा हो ।’
निर्वाचन आयोगले आज जसपाको आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउँदैछ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले पार्टीमा आ–आफ्नो आधिकारितको दाबी गर्दै आएका छन् ।
५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन् । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले गत बिहिबार कानुनी बहस सकेर पार्टी एकीकरणका बेला संलग्न कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।
त्यसैअनुसार जसपाका नेताहरुसहित कार्यकारिणी समितिका सदस्यहरु आयोग पुगेका हुन् ।