११ साउन, काठमाडौं
अर्घाखाँचीकोे सन्धिखर्क नगरपालिका–८ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट निधन भएपछि एक हप्ताका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको छ ।
सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकासँगै सबै १२ वटा वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
यस्तैगरी सबै वडा र नगरमा १३ दिनसम्म शोकपुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको निधनमा शोक व्यक्त गर्दै नेकपा एमाले जिल्ला कमिटीले पनि ३ दिनसम्म जिल्लाका सबै वडा तथा ६ वटा स्थानीय तहमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने, जिल्लास्थित पार्टीका कार्यालयहरूमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।