११ साउन, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंगोमा पुर्याउन निर्वाचन आयोगमा ‘हेड काउन्ट’ जारी छ ।
जसपामा आधिकारिकता विषयमा विवाद हुँदा आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि आज बोलाएको हो ।
जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले पार्टीमा आ–आफ्नो आधिकारितको दाबी गर्दै आएका छन् ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन् ।
यसैवीच जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन् । जसपाको विवाद टुंयाउन सनाखतका लागि चौधरी आयोग पुगेका हुन् ।
टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन् ।