११ साउन, सर्लाही ।
सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर लामो समयदेखि मर्मत नगरिँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको आईसीयू र भेन्टिलेटर एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा आउन सकेको छैन ।
गत वर्ष सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आईसीयू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पु¥याएका थिए ।
त्यसपछि केही समय आईसीयू र भेन्टिलेटर थन्काएर राखियो । पछि मर्मत गरेर प्रयोगमा ल्याए पनि अक्सिजन चुहिने समस्या आएपछि पुनः थन्काएर राखिएको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
केन्द्रको सञ्चालक समितिका अध्यक्ष उद्धव पौडेलले आईसीयू र भेन्टिलेटर खरिद गरेको कम्पनीले प्राविधिक पठाउन ढिला गर्दा समस्या भइरहेको बताउनुभएको छ । आफूले मर्मतका लागि प्राविधिक पठाइदिन बारम्बार फोन गरिरहेको उनले जानकारी दिए ।
‘भेन्टिलेटर र आईसीयू किनेको कम्पनीका प्रतिनिधिसँग प्राविधिक पठाइदिनुस् भनेर कैयौँ पटक फोन गरिसक्यौँ । भोलि–भोलि भनेर टारेको टा¥यै छन्,’ केन्द्रका अध्यक्ष पौडेलले गुनासो गर्दै भने, ‘प्राविधिक कुरा हामीले गरेर मात्रै नहुने रहेछ, प्राविधिक नआइदिँदा ठूलो समस्या परिरहेको छ ।’
दुई जना चिकित्सकलाई आईसीयू र भेन्टिलेटर चलाउने तालिम दिएर ल्याइसकिएको पौडेलले बताए । ‘तर उपकरण नै ठीक छैनन्,’ पौडेलले भने ।
सर्पदंश उपचार केन्द्र आफैँले भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि दुई जना एमबीबीएस डाक्टर नियुक्त गरेको हो । डा. सन्तोषकुमार साह केन्द्रमै कार्यरत हुनुहुन्छ भने डा. हर्षनारायण झालाई लालबन्दी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल डुमडुमेमा खटाइएको छ ।
केन्द्रका हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले सामान्य अवस्थाका बिरामीलाई एन्टिभेनम चलाएर उपचार गर्दै आएको बताए । जटिल अवस्थामा ल्याइएका बिरामीलाई भने आईसीयू र भेन्टिलेटरको अभावमा उपचार गर्न समस्या हुने गरेको यादवले बताए ।
‘सामान्य अवस्थाका बिरामीलाई त एन्टिभेनम चलाएर यहीँ उपचार गर्दै आएका छौँ तर सिरियस अवस्थाका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ,’ हेल्थ असिस्टेन्ट यादवले थपे ।
उनका अनुसार अहिले अत्यधिक विषालु हुने कालो करेतले टोकेका बिरामी धेरै आउने गरेका छन् । एक साताअघि असार ३० गते कालो करेतले डसेर उपचारका लागि ल्याइएका हरिवन नगरपालिका–१, भोक्टेनीका एक बालकको १० भाइल एन्टिभेनम चलाएर उपचार गर्दासमेत मृत्यु भएको थियो ।
केन्द्रमा सामान्य उपचार गरी आईसीयू र भेन्टिलेटरको सुविधा रहेको जनकपुरतर्फ रेफर गरिएका बालकको बाटोमा नै मृत्यु भएको हो । सर्पदंश उपचार केन्द्रका डा. सन्तोषकुमार यादवले अक्सिजन चुहिने समस्यासँगै छातीको एक्स–रे गर्ने उपकरणसहित अन्य केही सामग्रीको पनि अभाव रहेको बताएका छन् ।
केन्द्रमा अहिले सर्पले डसेर दैनिक चार÷पाँच जना बिरामी उपचारका लागि आउने गरेका छन् । वैशाख महिनामा २६ जना, जेठमा ६९ जना, असारमा ८७ जना र साउन २ गतेसम्म आठ जना सर्पदंशका बिरामीको सफल उपचार भइसकेको केन्द्रले जनाएको छ ।