११ साउन, मोरङ ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैयास्थित उखुबारीमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी २५÷३० वर्षीय पुरुषको पहिचान खुल्न बाँकी छ ।
कालो पेन्ट र सेटो रंगको सेन्डो गञ्जी लगाएका पुरुषको शव दुई देशीय सीमा छुट्याउने दशगजाबाट लगभग सय मिटरजति नेपालतिर भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । फरेन्सिक डाक्टरसहित घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका कोसी अस्पताल ल्याइएको जानकारी दिए । ‘नेपाल–भारत सीमाअन्तर्गत दशगजानजिक बेवारिसे अवस्थामा पुरुषको शव भेटिएको छ,’ उनले भने, ‘मृत्युको कारण र मृतकको पहिचान खुल्न सकिरहेको छैन ।’
मृतकको शरीरको बाहिरी भागमा भने चोटपटक नदेखिएको जिसीले बताए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता पत्ता लाग्ने अपेक्षा गरिएको छ ।