सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा डेढ करोड अनियमितता

१० साउन, सप्तरी ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा सप्तरीको राजगढ गाउँपालिकाले डेढ करोड रुपियाँ अनियमतिता गरेको पाइएको छ ।

दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने ज्यालामा अनियमितता गरेको पाइएको हो । मजदुर तोकिएकोभन्दा निकै कम ज्याला दिएर अनियमितता गरिएको आरोप मजदुरले लगाएका छन् ।

एक करोड ४४ लाख रुपियाँ गाउँपालिका र गाउँपालिकास्थित एसबीआई बैङ्कका कर्मचारीको मिलोमतोमा अनियमिता भएको स्थानीय युवा सङ्गठनले आरोप लगाएको छ ।

काम गरेको आधारमा प्रति कामदार ५५ हजार पाउनुपर्नेमा १५ हजार मात्र दिएको एक मजदुरले बताए । राजगढ गाउँपालिका–१ का मजदुर महेन्द्र मुखियाले बैङ्कबाट पैसा निकासा गर्नुपर्छ भनेर खाली चेकमा सहीछाप गराइएको गुनासो गरे ।

उनले भने, ‘हामी काम गर्ने अनपढ मान्छेलाई के थाहा, उनीहरूको नियत खराब छ, पैसा लिन जाँदा कम पैसा दिएपछि आफूहरूलाई झुक्याइएको थाहा भयो ।’

राजगढ गाउँपालिकाको बेलही चपेनास्थित एसबीआई बैङ्कले सहयोग गरेको कारण मजदुरले पाउने ज्यालामा एक करोड ४४ लाख रुपियाँ अनियमितता गरेको सङ्गठनका शत्रुघन यादवले आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिका छ वटै वडामा सञ्चालन गरिएको सो कार्यक्रममा ३६० जनालाई रोजगारी दिएको थियो । गाउँपालिका र बैङ्क कर्मचारीको मिलोमतोमा खाली चेकमा सहीछाप गराई पैसा निकालेर आफूहरूलाई कम भुक्तानी दिएको मजदुरले बताएका छन् ।

उनीहरुले भने, ‘हामीहरू अनपढ छौँ, विश्वास गरेर जहाँजहाँ भन्यो, त्यहाँत्यहाँ सहीछाप गरियो ।’ रोजगारी दिएका प्रतिव्यक्तिबाट गाउँपालिकाले ३७ हजार पाँच सयको दरले एक करोड ३५ लाख र बैङ्कले दुई हजार पाँच सयको दरले नौ लाख रुपियाँ अनियमितता गरेको मजदुरले आरोप लगाएका छन् ।

ज्यालाका लागि गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई भेटेर ध्यानाकर्षण गराएको मजदुरले बताए । अध्यक्ष यादव भने मजदुर ठगिएको बारेमा आफूलाई कसैले कुनै जानकारी नगराएको भन्छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम वडाबाट सञ्चालन भएकाले यसमा गाउँपालिकाको हात नहुने बताउँदै अध्यक्ष यादवले सम्बन्धित पक्षसँग बुझेर मात्र थप कुरा भन्न सकिने प्रतिक्रिया दिए ।

राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादवले कामदारको सङ्ख्याका आधारमा पाउने पूरा रकमको चेक काटेर प्रधानमन्त्री रोजगार कार्यक्रम खातामा ट्रान्सफर गरेको बताएका छन् ।

सो कार्यक्रमको लागि संयोजक तोकेको दिनेश यादवलाई ज्याला बुझाउने जिम्मेवारी दिएको उल्लेख गर्दै उनले भने, ‘कहाँ के भएको हो, थाहा भएन, छानबिन गरेर मात्र थप कुरा भन्न सकिन्छ ।’

यस विषयमा एसबीआई बैङ्क बेल्ही चपेनाका प्रबन्धक चितरन्जन यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here