निजी क्षेत्रबाट उत्पादित बिजुली प्राधिकरणभन्दा दोब्बर

१० साउन, काठमाडौं ।

निजी क्षेत्रबाट प्रवर्दित जलविद्युत आयोजनाहरु धमाधम सञ्चालनमा आएसँगै विद्युत प्राधिकरणका आयोजनाहरुको भन्दा निजी क्षेत्रको उत्पादन दोब्बर पुगेको छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीबाट २२८ मेगावाट र सिंगटी खोला आयोजनाबाट २५ मेगावाटसहित २५० मेगावाटभन्दा बढी विद्युत राष्ट्रिय प्रणालीमा थपिएपछि निजी क्षेत्रको उत्पादन ह्वात्तै बढेको हो ।

तामाकोशी र सिंगटीको विद्युत परीक्षणकै क्रममा रहे पनि उत्पादित ऊर्जा भने प्रणालीमा थपिएको छ । जसले निजी क्षेत्रको उत्पादनलाई ५६ प्रतिशत पु¥याइदिएको छ ।

केही दिनपछि तामाकोशीको ४५६ मेगावाट नै विद्युत प्रणालीमा थपिदा निजी क्षेत्रबाट मात्रै करिब १३०० मेगावाट विद्युत उत्पादन भइ दैनिक दुई करोड युनिटभन्दा बढी विद्युत प्रणालीमा आउने छ ।

अहिले नै १६०० मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । उच्चतम माग भने १४५० मेगावाट हाराहारी मात्रै रहेको छ ।

पिक समयमा अहिले पनि चाहेजति विद्युत उत्पादन नहुँदा भारतबाट आयात गरिरहनु परेको छ । तर तामाकोशीको सबै विद्युत प्रणालीमा आएपछि कम्तिमा पनि वर्षातभरी भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

तर उत्पादित विद्युतमध्ये सबै खपत गराउन पूर्वाधार पुगेको छैन । उत्पादित ऊर्जा खेर फाल्नुपर्ने अवस्था आइसकेकाले सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बेला आइसकेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपाध्यक्ष गणेश कार्कीले बताए । ‘अब उत्पादन पर्याप्त भइरहेको छ, खपत बढाउन प्रसारणलाइन दुरुस्त पार्नुपर्ने आवश्यकता छ,’ उनले भने, ’धमाधम प्रसारणलाइन बनाउनै पर्छ । बहानाबाजी गर्ने बेलै छैन ।’

केही समय अघिसम्म निजी क्षेत्र र विद्युत प्राधिकरणको उत्पादन बराबरी थियो । हिउँदमा भारतबाट आयात हुने विद्युत भने कुल मागको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो ।

अहिले देशभर दुई करोड ८४ लाख ९३ हजार युनिट विद्युत माग छ । तर विद्युत प्राधिकरणका आयोजनाबाट भने ८४ लाख ९ हजार युनिट मात्रै विद्युत आपूर्ति भइरहेको छ । जुन कुल मागको ३० प्रतिशत मात्रै हो ।

त्यस्तै भारतबाट ४३ लाख ८४ हजार युनिट विद्युत आयात भइरहेको छ । यो पनि कुल मागमा १४ प्रतिशत मात्रै हो । यी दुवैको विद्युत जोड्दा एक करोड २४ लाख ९३ हजार युनिट हुन्छ । जुन प्रणालीमा ४४ प्रतिशत मात्रै योगदान हो ।

नेपाल विद्युत प्राधिकरण र भारतबाट आयात गरिएको विद्युतभन्दा निजी क्षेत्र एक्लैको उत्पादन बढी भएको छ । अर्थात् निजी क्षेत्रका आयोजनाबाट करिब एक करोड ५७ लाख युनिट विद्युत उत्पादन भइरहेको छ । जुन कुल मागको ५६ प्रतिशत हुन आउँछ ।

प्राधिकरणका नयाँ आयोजना निर्माणाधीन नरहेकाले आगामी दिनमा थपिने विद्युत पनि निजी क्षेत्रकै योगदानमा थपिने छ । यसले गर्दा आगामी दिनमा प्राधिकरणको हिस्सा थप खुम्चिदै जाने देखिन्छ ।

विद्युत खरिदका लागि प्राधिकरणसँग खरिदबिक्री सम्झौता निर्माण चरणमै गरिने भएकाले निजी क्षेत्रका कतिपय आयोजना प्रवर्द्धकहरु अब प्रसारणलाइन आयोजना पूरा हुने दिन पर्खिरहेका छन् ।

विद्युत प्राधिकरणले पछिल्लो समय निजी क्षेत्र र सर्वसाधारण समेतको लगानी रहने गरी कम्पनी मोडलमा आयोजना विकास गर्ने नीति लिएका कारण पनि आगामी दिनमा प्राधिकरणको एकल स्वामित्वमा थप विद्युत उत्पादन हुने अवस्था छैन ।

निजी क्षेत्रबाट एक हजार मेगावाट विद्युत उत्पादन भइसकेको छ भने थप तीन हजार मेगावाट विद्युत उत्पादनको चरणमा रहेको उपाध्यक्ष कार्कीले बताए ।

अहिले जलविद्युत आयोजनामा प्रति मेगावाट २० करोड रुपैयाँ लागत पर्ने हुँदा दुई खर्ब रुपैयाँ लगानी भइसकेको र थप ४ खर्ब रुपैयाँ निर्माणाधीन आयोजनामा खर्च भएको पनि उनको भनाइ छ ।

सरकारले समयमै प्रसारणलाइन निर्माण नगरीदिँदा उत्पादित विदुयुतको लागत बढिरहेको छ । कुनै ठाउँमा प्रसारणलाइन बनेको छैन भने कुनै ठाउँमा लाइन बने पनि कम क्षमताको लाइन बनाएकाले सबै बिजुली आपूर्ति नै नहुने अवस्था छ ।

यसले निजी क्षेत्रको लगानीलाई जोखिम पनि उत्तिकै छ भन्ने सन्देश दिएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here