नयाँ आर्थिक वर्षको शुरुवातमा धितोपत्र बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । यस साता कूल २२२ कम्पनीको ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ बराबरको कारोबार भएको छ ।
कूल १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचक अहिलेसम्मै धेरै ३ हजार विन्दु पार गरेको छ । बुधबार सार्वजनिक बिदा परेकाले यस साता चार दिनमात्रै शेयर बजारमा कारोबार भयो ।
आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते आइतबार नेप्सेमा हरियाली छायो । त्यस दिन नेप्से परिसूचक ९७.२१ अङ्कले बढेर २९८०.६१ विन्दुमा पुगेको थियो । ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार रुपैंयाको कारोवार भयो । २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
सोमबार पनि दोहोरो अंकले बढेको बजारमा ११ अर्ब ८१ करोड ५४ हजारको कारोवार भयो । १३.९७ अङ्कले बढेर नेप्से २९९४.५८ बिन्दुमा पुग्दा २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएका थिए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको थियो ।
साताको तेस्रो कारोवार दिन मंगलबार भने परिसूचक ओरालो लाग्यो र कारोवार रकम पनि ७ अर्बमै खुम्चियो । नेप्से परिसूचक ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा झर्दा २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरीद बिक्री भए ।
मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको थियो । बुधबार सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन ।
शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८.७५ अंकले बढेर ३ हजार ४.३१ मा पुगेको छ । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजारमा कारोवार भयो ।
यससँगै बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।