९ साउन, काठमाडौं
नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।
प्रधानमन्त्री समेत रहेका पाटी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यही साउन १२ गते निर्धारित गाउँ, नगर, वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने निर्णय भएको छ । ‘त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुनेछ’ उनले भने ।
क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको हो । कांग्रेस क्रियाशील सदस्यताको सुचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो ।
गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गते का लागि निर्धारण गरिएको छ ।
क्रियाशील सदस्यता वितरणलाई लिएर नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनरत छन् । कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् ।
कांग्रेसमा १४ औं महाधिवेशनमा ८ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।