राना थारू समुदायका महिलाहरुका लागि दाजुभाइले राखे डोला (पिङ)

९ साउन, काठमाडौं
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा तिजको रौनक छाएको छ । हरितालिका तिजभन्दा ठीक एक महिना दिनअघि श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारू समुदाय तीज मनाउने तयारीमा रहेका महिलाहरुका लागि डोला (पिङ) हालिएकाे छ ।

पिङलाई रानाथारू भाषामा डोला भन्ने गरिन्छ । गाउँको बीच भागमा दाजुभाइले दिदी–बहिनीहरुका लागि डोला अर्थात पिङ राखेका छन् । थारु समुदायले परम्परागत चलनअनुसार साउन महिनाको पहिलो सातामै डोला राखेका हुन् । चार वटा काठको खावाँमा डोरीमा काठको फल्याक बाँधेर पिङका रुपमा प्रयोग गरिन्छ ।

राना थारू बसोवास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारू महिलाहरु गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ महिलाहरुका लागि उनीहरुका दाजुभाइले राख्ने गर्दछन् ।

सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदी बहिनीहरुका लागि पिङ राख्ने पुरानो चलन रहेको भलमन्सा रामप्रसाद रानाले बताए । पिङ खेल्ने दिदी–बहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन छ । यस बाट दिदी–बहिनी र दाजु भाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिईने गरिएको राना थारू अगुवा गेंदुराम रानाले बताए ।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेका रानाथारु समुदायले हरितालिका तीजभन्दा ठीक महिना दिन अगाडि साउन शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छन् । तीजका दिन महिलाहरु पानीसमेत नखाई ब्रत बस्छन् ।

दिदी–बहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्छन् । उनीहरुले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउछन् ।

महिलाहरु बिहानै घर लिपपोत गरेपछि नुहाएर साँझका लागि विभिन्न किसिमका परिकारहरु बनाउने काममा जुट्छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here