चरेससहित तीन जना पक्राउ

निरज यादव/प्रदेशपालिका
९ साउन, सर्लाही ।

जिल्लाको भारतीय सीमानाकासँग जोडिएको मलङ्ग्वाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

वडा नं. २ स्थित झण्डा बजारबाट एघार किलो अवैध लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५९ का वीरबहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका – ५ मा बस्ने वर्ष २५ का सुकुराम पाख्रीन र जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका – ११ बस्ने वर्ष २६ का सुकलाल तामाङ रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाबाट सशस्त्र प्रहरी नायव निरीक्षक को कमाण्डमा खटिएको टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

शुक्रवार बिहान करीब ९ बजेको समयमा शंका लागेर चेकजाँच गर्दा चरेससहित तीनै जनालाई नियन्त्रणमा लिइएको हो ।

एक थान ब्याग र दुई थान ग्यालिनमा लुकाइराखेको एघार किलो अवैध लागुऔषध चरेससहित पक्राउ परेका तीनै जना मलङ्ग्वा नगरपालिकाको झण्डा बजार हुँदै भेडियाही नाकाबाट भारततर्फ प्रवेश गर्न लागेका थिए ।

तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि शुक्रवार नै जिल्ला प्रहरी कार्यालय मलङ्ग्वा सर्लाहीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here