८ साउन, काठमाडौं
सरकारका साझा नीति तथा कार्यक्रमका लागि सत्तारुढ गठबन्धनका नेताहरूले छलफलमा जुटेका छन् । सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको पहिलो बैठक बालुवाटारमा बसेको छ ।
बैठकमा कामचलाउ हैसियतको अघिल्लो सरकारले गरेका नियुक्तिको समीक्षा तथा वर्तमान सरकारका भावी साझा कार्यक्रमबारे छलफल भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए ।
उनका अनुसार बैठकमा सैद्धान्तिक विषयमा मात्रै छलफल भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलमा कांग्रेस नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक हुनुहुन्छ भने नेकपा (माओवादी केन्द्र) बाट नेताद्वय वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।