बागमती प्रदेशमा सवारीको राजस्व अनलाइन भुक्तानी सुरु

८ साउन, काठमाडौं

बागमती प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणाली सुरु भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित कार्यक्रमकाबीच सवारीसाधनको नवीकरण अनलाइनबाटै गर्नसकिने प्रणालीको उद्घाटन गरेका हुन् ।

उनले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी यो प्रणालीको शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशका करिब २० लाख सवारी धनीलाई कम समयभित्र झण्झट व्यहोर्न नपर्ने गरी अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रविधिलाई शुभारम्भ गर्न पाएकोका खुशी व्यक्त गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट सवारी साधनको कर तिर्ने तथा नवीकरण गर्ने व्यवस्था मिलाएको छ । अनलाइनबाट सवारी कर भुक्तानी गरेपछि एक पटकको लागि भने करदाता यातायात कार्यालय पुग्नु पर्नेछ ।

उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने, सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् ।

कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।

हाल यो सेवा प्रारम्भिक चरणमा बागमती प्रदेशमा मात्र संचालनमा ल्याइए पनि चाँडैनै देशभर लागू गरिने प्रदेश कार्यालयले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here