८ साउन, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) ले एमाले वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको लोभ त्याग्न सुझाव दिएका छन् ।
‘संसद र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानुभएन, ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले भने, ‘प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ ।’
अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको समेत बताए । वैद्यले एमाले अध्यक्ष केपी ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको टिप्पणी समेत गरे ।
‘ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?’ अध्यक्ष वैद्यले भने ‘संसदमा जाने साथीहरु सबै एक हुँदै, सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरुबीच तालमेल गरौँ ।’