महन्थ ठाकुर द्वारा ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

८ साउन, काठमाडौं

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

ठाकुरले ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले रिट दायर गरेका छन् ।

रिटमा आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ ।

निर्वाचन आयोगले जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्न निर्वाचन आयोगले पार्टीका ५१ जना कार्यकारिणी सदस्यलाई प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो ।

कार्यकारिणी समितिमा जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले ३१ जना सदस्य रहेको भन्दै बहुमत रहेको दाबी गरेको छ ।  तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो ।

तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका    थिए । आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here