सुजिता भण्डारी प्रकरण : दाजु नाता पर्नेसँग बिहे नभएपछि आत्महत्या गरेको खुलासा

८ साउन, काठमाडौं
चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरण प्रहरीले नयाँ खुलासा गरेकाे छ ।

सुजिताले ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीले आफूसँग बिहे गर्न नमानेपछि आत्महत्या गरेकाे खुलेकाे प्रहरीकाे दाबी छ ।

प्रहरीले झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेवलाई पक्राउ समेत गरेकाे छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेको र विवाह नगर्ने भए मर्छु भनेपछि सचिनले जे गर्छस् गर् भनेको खुलेको छ । असार ११ गते बेपत्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । अनुसन्धानको क्रममा दाजु बहिनी नाता पर्ने सुकदेव सुजिता काठमाडौं आएर छुट्टै एकसाथ बस्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिकाले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन्। सुजिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद – १२ अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here