नीरज यादव
८ साउन, सर्लाही
नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न–४ का नेता कार्यकर्ताहरुले सांसद अमरेशकुमार सिंहलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन् ।
सर्लाही क्षेत्र न–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहलाई पार्टीको विधान बमोजिम कारवाही गर्न देउवाको ध्यानाकर्षण गरेका हुन् । सिंहले पार्टी विरोधी क्रियाकलाप तथा व्यवहारले सर्लाही जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिती उत्पन्न गराएको उनीहरुको आरोप छ ।
पार्टी महाधिवेशनको पुर्व सन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण सम्बन्धि उत्पन्न बिवाद, अस्वभाविक र भद्दा प्रवृत्तिले काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध उत्पन्न गराएको उनीहरुले उल्लेख गरेका छन् ।
सिंहको अहंकार प्रवृत्ति, पटकपटक पार्टी र शिर्ष नेतृत्वको बारेमा दिने गैरजिम्मेवार अभिव्यक्ति, झुठो आश्वासन, पार्टीको विधि विधान, पद्धति र संगठनको निर्णयलाई सधै बेवास्ता गरि अगाडी बढ्न खोज्ने, जिल्ला र क्षेत्रमा हुने पार्टीको कार्यक्रमहरुमा सहभागी नहुने गरेको स्थानीय नेताहरुले बताएका छन् ।
सिंहले पटकपटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरि पार्टीलाई बदनाम गराउने कार्य गरेको पनि उनीहरुको आरोप छ ।
पार्टीका प्रदेश न–२ का प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंह, प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साह लगायतले संयुक्तरुपमा हस्ताक्षर गरि पत्र पठाउँदै वडादेखि क्षेत्रसम्मको निर्णयले इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन सर्लाही क्षेत्र न–४ का नेता तथा कार्यकर्ताहरुले सभापति देउवा सँग आग्रह गरेका छन् ।