नयाँ ६ मन्त्रीको सपथसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पायो

८ साउन काठमाडौं
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार ६ जना नयाँ मन्त्रीले शपथ ग्रहण गरेसँगै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले ४२ औँ दिनमा पूर्णता पाएको हो ।

नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । गत जेठ २९ मा पोखरेल नेतृत्वको सरकार बने पनि मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको थियो ।

शुक्रबार कांग्रेसका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्री, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री र मणिभद्र शर्मा कँडेलले पर्यटन मन्त्रीको रूपमा शपथ खाएका छन् ।

यस्तै माओवादीबाट संसदीय दलका उपनेता रामजी बरालले आर्थिक मामिला तथा योजना मन्त्रालय, चन्द्रबहादुर बुढामगरले कृषि तथा सहकारी मन्त्रालय र दीपक घर्तिमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् । गठबन्धनका प्रमुख दुई घटक कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँडमा बिहीबार साँझ सहमति भएको थियो ।

यसअघि जेठ २९ मा नयाँ सरकार बनेकै दिन सपथ खाएका माओवादीकी मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

उनीहरुलाई मन्त्रालय बाँडफाँड नमिलेकाले केही समयपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो । कांग्रेसका कुमार खड्काको भने जिम्मेवारी फेरिएको छ । उनलाई सामाजिक विकास मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सारिएको  छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here