सत्तापक्षलाई नेम्वाङको प्रश्न : आफ्नो दलमा मात्रै अनुशासन खोज्ने ?

प्रधानमन्त्रीलाई भने– तपाईँको पार्टीभित्रका कोही मित्रहरुसँग छुट्टै गठबन्धन बनाउंदैनौं

साउन, काठमाडौं
प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ । बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिइरहेका छन् ।

बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षले आफ्नो पार्टीमा मात्रै अनुशासन खोजेको टिप्पणी गरेका छन् ।

‘बहुदलीय व्यवस्थामा तपाईँहरुले एकदमै ठिक गर्नुभयो’ भन्दै नेम्वाङले ‘आफ्नो पार्टीभित्र अनुशासन चाहिने, आफ्नो पार्टीभन्दा बाहिर भने अनुशासन नचाहिने ! यो हो तपाईहरुको मान्यता ? आफ्नोमा पार्टीले निर्णय गर्नुपर्ने, आफ्नो बाहिर पार्टीले नभई अरु ढँगले निर्णय हुनुपर्ने । हामीले कस्तो बहुदलीय प्रतिस्पर्धालाई अपनाएका छौं ? भन्दै प्रश्न गरे ।

देउवा प्रधानमन्त्रीमा दाबी गर्न जाँदा कांग्रेस र माओवादी केन्द्रले दलको पत्र पेश गरेको तर एमालेका केही सांसदलाई भनेस्वतन्त्र सांसदका रुपमा लगिएको भन्दै नेम्वाङले आलोचना गरे ।

पार्टीका माधव नेपाल पक्षलाई लिएर गठबन्धन निर्माणप्रति लक्षित गर्दै नेम्वाङले देउवालाई भने– ‘प्रधानमन्त्रीज्यू, एउटा कल्चर स्थापित गर्न हामी सधैं लागेका छौं । हामी तपाईको पार्टीसँग तपाईँमार्फत सम्बन्ध विस्तार गर्छौँ । अलि प्रष्ट, सजिलो शब्दमा भन्नुपर्दा तपार्इँको पार्टीभित्रका कोही मित्रहरुसँग छुट्टै गठबन्धन बनाउंदैनौं ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कांग्रेस र माओवादी केन्द्रले ह्वीप जारी गरेकोप्रति पनि उनले टिप्पणी गरे ।

‘सम्माननीय प्रधानमन्त्रीले प्रधानमन्त्रीमा दाबी गर्दै गर्दा “पार्टीका तर्फबाट दलका नेता देउवालाई हामी प्रधानमन्त्री बनाउदैछौं” भनिएको नेपाली काँग्रेसको निर्णयको चिट्ठी प्रस्तुत गर्नुभयो । अर्को दल माओवादी केन्द्रले पनि शेर बहादुरज्यूलाई हामी समर्थन गर्छौं भनेर निर्णय गर्यो । साह्रै राम्रो । यो हो कल्चर । तपाईहरुको यो निर्णय संविधानको अनुरुप, संविधानका धारा, उपधारा अनुरुप छन् । तपाईहरुले आफ्नो हकमा जे निर्णय गर्नुभयो ठिक निर्णय गर्नुभयो । तर यही दाबीमा तपाईँले अरु दलका सांसदलाई भने स्वतन्त्र सांसदको रुपमा नाम झुन्ड्याईदिनुभयो ।’

सर्वोच्च अदालतको फैसलाले राज्यका तीन अंगबीचको शक्ति सन्तुलनलाई खल्बलाएको नेम्वाङको टिप्पणी छ । आफूहरु जिम्मेबार प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्नेसमेत नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here