८ साउन, काठमाडौं ।
कोरोनाभाइरस महामारीप्रति सरकारले जनाएको प्रतिक्रियाको आलोचना गरेका दुई वटा मुख्य सञ्चार माध्यहरूको कार्यालयमा भारतको आयकर विभागले छापा मारेको बिबिसीले जनाएको छ ।
अधिकारीहरूले भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाले कर छली गरेको विषयबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।
ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको बिबिसीको समाचारमा जनाइएको छ ।
आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमलाको संज्ञा दिएका छन् ।
तर भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन् । ‘निकायहरूले आफ्नो काम गर्छन् । तिनीहरूको सञ्चालनमा हामी हस्तक्षेप गर्दैनौँ,’ उनले भनेका छन् ।
हिन्दी भाषामा प्रकाशित हुने दैनिक भास्कर पत्रिका भारतमा व्यापक रूपमा पढिने दैनिक मध्येमा पर्छ ।
कोरोनाभाइरस महामारीकाबीच उक्त पत्रिका र भारत सञ्चारले अक्सिजनको र अस्पतालमा शय्याको अभाव जस्ता विषयमा सरकारले गरेको काम पर्याप्त नरहेको भन्दै समाचार सम्प्रेषण गरेका थिए ।
कोरोनाभाइरसका कारण मृत्यु भएको ठानिएका गङ्गा नदीमा तैरिरहेका मृत शरीरबारे पनि ती सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए ।
दुवै सञ्चारमाध्यमले सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा नियोजित रूपमा आफूहरूलाई निसाना बनाइएको बताएका छन् ।
‘छापा हाम्रो आक्रामक रिपोर्टीङ्गको नतिजा हो,’ दैनिक भास्करका केन्द्रीय सम्पादक ओम गौरले द वासिङ्टन पोस्टसँग कुरा गर्दै भनेका छन्, ‘अन्य केही सञ्चारमाध्यमहरू भन्दा फरक हामीले अक्सिजन र अस्पताल शय्याको अभावका कारण कसरी मानिसहरूले ज्यान गुमाइरहेका छन् भन्ने विषयमा समाचार छापेका थियौँ ।’