प्रदेश नं. २ लाई कृषिप्रधान प्रदेश बनाइने

निरज यादव/प्रदेशपालिका
८ साउन, सर्लाही ।

प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले यस प्रदेशलाई कृषिप्रधान प्रदेश बनाइने बताएका छन् ।

आर्थिक रुपले सबल र समृद्ध नभइ प्रदेश समृद्ध नबन्ने भएकोले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको उनले बताए ।

बिहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउन प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखे नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेको उनले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यहाँका किसानहरुलाई जिल्ला बाहिरबाट बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहेको प्रदेश सरकारलाई महसुस भएको बताए ।

यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको उनको भनाइ थियो ।

प्रदेश सरकारको २५ लाख रुपैयाँ र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको हो ।

कृषि ज्ञान केन्द्र सर्लाही मलंगवाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का सांसद सञ्चमाया मोक्तान, बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका नगर मानबहादुर खड्का, कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहा लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here