७ साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहको एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टीयर (पिभी) घोषणा गरेका छन् ।
युवा संघको केन्द्रिय कमिटीले ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालले शिव श्रेष्ठको संयोजकत्वमा एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टीयर घोषणा गरिएको हो । पिभीको इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्रीलाई तोकिएको छ ।
नेकपा एमालेको आठौं महाधिवेशनले पीभी विघटन गरेको थियो । अध्यक्ष केपी शर्मा ओली निकट युवासंघले युथ फोर्स ब्यूँताएपछि नेपाल समूहले पनि पीभी ब्यूँताएको हो ।
यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो । नेता नेपालले पीभी घोषणा गर्दै यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताएका छन् । ‘ पिपुल्स भोलेन्टीयर कम्युनिष्ट विचारबाट अघि बढ्ने संगठन हुनेछ’ नेता नेपालले भने ।