७ साउन, काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रमिक-मजदुरहरुको ज्यालादर पाँच प्रतिशतले बढाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्याला पाँच प्रतिशत वृद्धि गर्ने निर्णय स्वीकृत गरेको हो ।
यसै आर्थिक बर्षदेखि लागु हुनेगरी ज्यालादर तोकिएको हो । अब निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूको दैनिक ज्याला ७९० पाउनेछन् । यसअघि उनीहरुको दैनिक ज्याला ७५० रुपैंया थियो ।
काठमाडौंमा श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टा लाई आधार मानी ०७७/७८ मा कायम गरिएको ज्यालादरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका छन् ।