पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक, २२ सांसदलाई कारवाहीको निर्णय भएन

७ साउन, काठमाडौं
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा गत सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै सकिएको छ ।

‘पार्टीको एकतालाई कायम राख्नका निम्ति भइरहेका प्रयासका बारेमा छलफल गर्यौँ, यो प्रयासलाई थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालीएको छ’ बैठकको निर्णय सुनाउंदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

बैठकले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाहीको निर्णय गरेन ।

‘अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्नेगरी र पार्टीमा योगदान गर्नेगरी आउन चाहने साथीहरुलाई विगतका गल्तिहरु विर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ, ज्ञवालीले भने, ‘छलफलहरु चलिरहेको हुनाले अहिले हामीले यस सम्बन्धमा कुनै अरु निर्णय गरेका छैनौं, एकताका निम्ति प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहीत हुनेगरी गतिविधिमा संलग्न हुने साथीहरुलाई कमिकमजोरीहरु सच्याएर आउनका निम्ति अपील गर्दै बैठक सकिएको छ ।’

बुधबार २४ घण्टे स्पष्टीकरण माग गर्दै संस्थापन पक्षले पत्र पठाएपछि नेपाल पक्षले त्यसको जवाफ दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here