६ लाख युवालाई नागरिकताविहीन बनाएर ठुलो अपराध गरिरहेका छौं : सांसद पौडयाल

७ साउन, काठमाडौं
राष्ट्रियसभाकी सांसद डा. विमला राई पौडयालले ६ लाख युवालाई नागरिकताविहीन बनाएर अपराध गरिएको टिप्पणी गरेकी छिन् ।

बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडयालले उनीहरु नागकिरताविहीन हुनुमा सांसदहरु समेत जिम्मेवार रहेको उल्लेख गरिन् ।

‘६ लाख युवाहरुले मौलिक हकको कुनैपनि अधिकार स्वतन्त्र भएर उपभोग गर्न पाउनुभएको छैन, किनभने उहाँहरुसँग नागरिकता छैन । उहाँहरु धेरैजसो एकल आमाका सन्तान हुनुहुन्छ’ सांसद पौड्यालले भनिन्, ‘हामी सांसदहरु कोहीपनि नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी नागरिकतावीहिन छैनन् त्यसकारण यसले हामीलाई कति छोएको छ, मलाई शंका लाग्न थालेको छ ।’

उनले दलिय सहमतिको नाममा ६ लाख नागरिक हुने युवाहरुलाई नागरिकता विहीन बनाएर राख्न मिल्छ ? भन्दै प्रश्न समेत गरिन् । ‘त्यो चाँडो निकाल्नुपर्दैन ? हामिले यो एकदमै ठुलो अपराध गरिरहेका छौं, उनले भनिन ।

दलीय सहमति नजुटेर नागरिकता विधेयक अगाडि नबढेको भए विद्येयक पास गराउन सांसदहरुले फ्लोर क्रस गर्न सक्नुपर्ने सांसद राईको भनाई थियो ।

‘दलिय दलिय सहमति नजुटेर नागरिकता विद्येयक पास गर्न सकेका छैनौं भने फ्लोर क्रस गर्ने चलन चली नै सकेको छ, अब त्यस्ता कुरामा फ्लोर क्रस गरौं जसले जनताको तड्कारो आवश्यकतालाई पूर्ति गर्छ’ उनले भनिन् ।

तत्काल नागरिकता विद्येयक पास गर्न जोड दिंदै उनले विद्येयक पास नहुन्जेलसम्म उनीहरुलाई मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग गर्न पाउनेगरी अल्पकालीन व्यवस्था गर्न पनि माग गरिन् ।

‘उनीहरुलाई जे लेखेर दिनपर्छ दिऊँ । नेपाली आमाको सन्तान नागरिकताविहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्न नपरोस्’ सांसद पौडयालले भनिन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here