एमालेका २२ सांसदले स्पष्टीकरण दिने तयारी

७ साउन, काठमाडौं
नेकपा एमालेका फ्लोर क्रस गर्ने २२ सांसदले पार्टीको संस्थापन पक्षले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् ।

२४ घण्टे स्पष्टीकरण मागिएको पत्र हिजो ओली पक्षले पठाएपछि त्यसको जवाफ दिन नेपाल पक्ष अहिले छलफलमा जुटेको छ । पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका उनीहरुलाई जारी केन्द्रीय कमिटीको बैठकले सर्वोच्चको आदेश आकर्षित नहुने गरी स्पष्टीकरण मागेको थियो ।

विपक्षी गठबन्धनसँग साँठगाँठ गरेको उनीहरुमाथि आरोप छ । स्पष्टीकरण पत्रमा पार्टीको विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनि सोधिएको छ ।

उनीहरुलाई पार्टीको निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू संचालन गरे गराएको पनि आरोप लगाइएको छ ।

निष्कासन गर्नु नपर्ने कुनै कारण भए २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भन्दै संस्थापन पक्षले जवाफ चित्त बुझ्दो नभएमा वा जवाफ नदिएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here