कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

७ साउन, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन ।

सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले वडा तहको अधिवेशन साउन अन्तिममा सार्ने विषयमा छलफल भइरहेको जानकारी दिए । तर मिति भने तय भइसकेको छैन ।

यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु गर्ने गरी छलफल भइरहेको हो ।

‘वडा अधिवेशन २८ वा २९ साउनमा सुरु गर्ने, त्यो अवस्थामा २७ भदौबाट केन्द्रीय महाधिवेशन सुरु गर्ने विषयमा छलफल भइरहेको छ तर भदौभित्रै महाधिवेशन हुन्छ ।’ कांग्रेस सभापति देउवानिकट उच्च स्रोतले भन्यो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको जानकारी दिए ।

‘वडा र गाउँ नगरका अधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको छ तर अन्तिम मिति चाहिँ सार्न नहुनेमा सभापतिको जोड छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

हाल कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको हो ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले २० असारभित्रै सदस्यताको काम सकेर ३० असारभित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो ।

तर, अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन पाएको छैन । सभापतिले सूची नबुझेसम्म त्यसले अन्तिम रूप पाउँदैन । यस्तै, सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडातहसम्म पु¥याउनुपर्ने हुन्छ ।

हाल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।

समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here