६ साउन, काठमाडौं
नेकपा (माओवादी केन्द्र) ले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धताहरू तय गर्न सरकारलाई आह्वान गरेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले सत्तारुढ गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धता मार्फत् अगाडी बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिबद्धताहरू तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ’ प्रवक्ता श्रेष्ठले भने । त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको पनि उनले बताए ।
बैठकले विगतको सरकारले देखाएको आचरण गठबन्धनको सरकारले देखाउन नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडी बढ्नुपर्नेमा पनि जाेड दिएकाे छ । ‘हामीले हिजो जुन प्रवृत्ति विरुद्ध संघर्ष गर्यौं, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन, पुनरावृत्ति हुनु हुँदैन’ प्रवक्ता श्रेष्ठले भने ।
माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष समेत निकालेको छ । बैठकले यही साउन १७ गते स्थायी कमिटी बैठक र साउन २० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको नेता श्रेष्ठले बताए ।