कांग्रेस सांसद अमरेश कुमार सिंहले दिए सांसद पदबाट राजीनामा

६ साउन, काठमाडौं
नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका सम्बन्धमा असन्तुष्टि जनाउँदै उनले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाएका छन् ।

आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् ।

निधिको व्यवहारका कारण प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको उनको ठहर छ । यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको सिंहले तर्क गरेका छन् ।

‘मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्र्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु’ सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् ।

कांग्रेसमा महाधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको भन्दै कांग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here