६ साउन, काठमाडौं
नेपालमा कोरोना महामारी फेरी बढ्न सक्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले कोरोना महामारी फेरि बढ्न सक्ने भन्दै सचेत गराएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा उनले एक सातादेखि पुनः संक्रमणदर बढ्दै गएको भन्दै सर्वसाधारणले अझै मापदण्ड पालना नगरे आउने दिन थप कठिनाइपूर्ण हुन सक्ने बताएका छन् ।
‘अहिले निषेधाज्ञा खुकुलो गरिएको छ, जसले सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण दर बढ्दै गइरहेको छ’ उनले भने ।
डा. बास्तोलाले नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम रहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गर्न सबैलाई सुझाव दिए ।
डा. बास्तोलाले खोप केन्द्रहरुमा सामाजिक दूरी कायम नगरिंदा त्यहीबाट पनि संक्रमण फैलिएको पाइएको बताए । ‘अहिले खोप केन्द्रमा सामाजिक दूरी कायम नगर्दा खोप लगाएका व्यक्ति एक सातापछि ज्वरो आउने समस्या लिएर हामीकहाँ आएका छन् उनले भने, ‘उनीहरूमा पनि संक्रमण पुष्टि भएको छ ।’